Central Department of Education

Tribhuvan University, Faculty of Education, Central Department of Education, Kritipur, Kathmandu

Advancing Health Education Research and Innovation

Advancing Health Education Research and Innovation

2025-04-28
CDED Admin

Advancing Health Education Research and Innovation शीर्षकमा विश्वविद्यालय अनुदान आयोगको अनुदानमा त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभाग र नेपाल स्वास्थ्य शिक्षा संघ (HEAN) को संयुक्त आयोजनामा ललितपुरस्थित सिद्धार्थ कटेजमा २०८१ साल चैत ३० र ३१ गते दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको अध्यक्षता HEAN का अध्यक्ष प्रा.डा. भीमसेन देवकोटाले गर्नु भएको थियो भने शिक्षा शास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. शम्भु प्रसाद खतिवडाले स्वागत मन्तव्यसहित सम्मेलनबारे आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रममा २५० भन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो।

सम्मेलनमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यञ्जु र जनस्वास्थ्य विज्ञ दीर्घराज श्रेष्ठले नेपालमा 'स्वस्थ शहरी अभियान'मा धुलिखेल नगरपालिकाले खेलेको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। यस्तै, अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयकी उपप्राध्यापक डा. सारा बाउमेनले पश्चिम नेपालमा प्रचलित छाउपडी प्रथाका कारण महिलाले भोग्नुपरेका मानसिक तथा स्वास्थ्य समस्याका समाधानबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सम्मेलनमा भारतको जिन्डाल विश्वविद्यालयका प्राध्यापक सम्राट सिन्हा र बेलायतका स्वास्थ्य विज्ञ डा. पुष्पराज पन्तले पनि आ–आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्नु भएको थियो।

यस सम्मेलनमा स्वास्थ्य शिक्षा पाठ्यक्रम, सिद्धान्त, नवप्रवर्तन, स्वास्थ्य तथा पोषण, नसर्ने रोग, मानसिक स्वास्थ्य, वातावरणीय स्वास्थ्य, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा वयस्कहरूको स्वास्थ्य, यौनिकता शिक्षा लगायतका विषयहरूमा नेपाल, अमेरिका, बेलायत, भारतलगायतका देशका स्वास्थ्य शिक्षा तथा प्रवर्द्धनका विज्ञ तथा अनुसन्धानकर्ताहरूले कार्यपत्रहरू प्रस्तुत गर्नु भएको थियो।

यस्तै, विद्यालय तहमा स्वास्थ्य शिक्षाको आवश्यकतामा केन्द्रित रही प्यानल छलफल समेत आयोजना गरिएको थियो। उक्त छलफलमा नेपाल स्वास्थ्य शिक्षा संघका अध्यक्ष प्रा.डा. भीमसेन देवकोटा, पाठ्यक्रम विकास केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत कमल प्रसाद मिश्र, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रकी वरिष्ठ अधिकृत शिला श्रेष्ठ, UNFPA का CSE कार्यक्रम संयोजक अभिराम रोय, र RHRN का राष्ट्रिय संयोजक राजेन्द्र महर्जन प्यानलिस्ट रहनु भएको थियो।

सम्मेलनमा HEAN को अनुसन्धानात्मक जर्नल Health Promotion को १२ औं अंक तथा नेपाल स्वास्थ्य शिक्षा संघको स्मारिका विमोचन गरिएको थियो। साथै, HEAN का आजीवन सदस्यहरूमध्ये यशस्वी सदस्यता प्राप्त गर्नु हुने पहिलो व्यक्ति श्री अच्युत देव सिटौलालाई तथा २०८१ साल भित्र विद्यावारिधि (Ph.D.) पूरा गर्नु भएका पाँच जना शोधार्थीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

सम्मेलनको समापन २०८१ चैत ३१ गते HEAN का अध्यक्ष प्रा.डा. भीमसेन देवकोटाले "Declaration of the Conference: Call for Action to Change" प्रस्तुत गर्दै गर्नु भएको थियो।