Central Department of Education

Tribhuvan University, Faculty of Education, Central Department of Education, Kritipur, Kathmandu

पुस्तक लाेकार्पण

पुस्तक लाेकार्पण

2026-10-05 / 2026-10-05T23:59:00
शिक्षाशास्त्र केन्द्रीय विभाग

हुमबहादुर बरुवालका दुई कृति लोकार्पित

काठमाडौं । मुक्तककार तथा कवि प्रा. डा. हुमबहादुर बरुवाल ‘हरिबाबु’द्वारा लिखित दुई कृति ‘अनुभूति’ (मुक्तक संग्रह) र ‘प्रकृति, प्रवर्द्धन र प्रगति’ (कविता संग्रह) लोकार्पण गरिएको छ।

त्रिभुवन विश्वविद्यालय, स्वास्थ्य शिक्षा र शारीरिक शिक्षा विभागको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा प्रा. डा. लोकेन्द्र शेरचनले दुवै कृतिको लोकार्पण गर्नुभएको हो। विभागीय प्राध्यापक, साहित्यकार, बुद्धिजीवी तथा सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता स्वास्थ्य शिक्षा विभागका प्रमुख शान्तिप्रसाद खनालले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन डा. वाईपी आचार्यले गर्नुभएको थियो भने शारीरिक शिक्षा विभागीय प्रमुख शैलेन्द्र चिलुवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा ‘अनुभूति’ मुक्तक संग्रहको समीक्षा डा. राजेन्द्र खनाल र ‘प्रकृति, प्रवर्द्धन र प्रगति’ कविता संग्रहको समीक्षा प्रा. डा. केशवराज पोखरेलले गर्नुभएको थियो।

‘अनुभूति’ मा ९५ वटा मुक्तक समावेश छन्। संग्रहका मुक्तकहरू समाज, प्रकृति, स्वास्थ्य, राजनीति, स्वानुभूति तथा मातृभूमिजस्ता विविध विषयमा केन्द्रित छन्। समीक्षक डा. खनालले कृतिले सामाजिक चेतना, रूपान्तरण र कलाचेतनाको विकासमा योगदान पुर्‍याउने बताउनुभयो। प्रत्येक मुक्तकलाई शीर्षकसहित प्रस्तुत गरिएको र सामाजिक विकृति तथा विसङ्गतिलाई सिर्जनात्मक ढङ्गले अभिव्यक्त गरिएको उहाँको भनाइ थियो।

त्यसैगरी ‘प्रकृति, प्रवर्द्धन र प्रगति’ मा ३२ वटा कविता समावेश छन्। अधिकांश कविता मातृभूमि, प्रकृति, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित छन्। समीक्षक प्रा. डा. पोखरेलले कविले आफ्नो जन्मभूमि म्याग्दीप्रतिको स्मरणसँगै जीवनयात्रामा अनुभूत गरेका प्राकृतिक तथा सांस्कृतिक पक्षलाई कलात्मक रूपमा कवितामा प्रस्तुत गरेको बताउनुभयो।

कृतिमा समाजमा विद्यमान विकृति र विसङ्गतिको अन्त्य हुनुपर्ने तथा त्यसपछि मात्र मुलुकमा वास्तविक समृद्धि सम्भव हुने सन्देश रहेको कार्यक्रममा चर्चा गरिएको थियो। प्रकृति र संस्कृतिको संरक्षणलाई देशको समृद्धिसँग जोड्दै कविले युवा, वृद्ध, राजनीतिक नेतृत्व तथा आम नागरिकलाई सामाजिक रूपान्तरणका लागि सचेत गराउन खोजेको वक्ताहरूले बताएका थिए।

कार्यक्रममा प्रा. डा. श्यामकृष्ण महर्जनले आफू बरुवालको विद्यार्थी हुँदाको स्मरण गर्नुभयो। उहाँले विद्यार्थी जीवनमा बरुवालले पढाउनुभएका विषयगत नोटहरू अझै पनि आफ्नो निजी पुस्तकालयमा सुरक्षित रहेको बताउँदै साहित्य र जीवनबीचको गहिरो सम्बन्ध रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी पूर्व डीन प्रा. डा. चित्रबहादुर बुढाथोकीले प्रा. डा. बरुवालबाट आफूले प्राप्त गरेको प्रारम्भिक मार्गदर्शन र बौद्धिक निर्देशनको स्मरण गर्नुभयो। उहाँले बरुवालको मार्गदर्शनमा आफूले स्नातकोत्तर तहको शोधकार्यसमेत गरेको बताउँदै उहाँ बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा सबैका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्नुभयो। अवकाशपछि पनि अध्ययन, लेखन र सिर्जनामा निरन्तर सक्रिय रहनु उहाँको विशेष प्रेरणादायी पक्ष भएको उहाँको भनाइ थियो।

कार्यक्रममा प्रा. डा. बरुवालले पछिल्लो समय समाजमा पठन संस्कृति कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै साहित्यिक कृतिको नियमित पठन आवश्यक रहेको बताउनुभयो। उहाँले आफ्ना सिर्जनामा प्रकृति, राजनीति, सामाजिक विकृति, स्वानुभूति र मातृभूमिप्रतिको भावनालाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो। उहाँले सिर्जना कर्मलाई निरन्तरता दिँदै आएको र सामाजिक सञ्जालमार्फत पनि नियमित रूपमा नयाँ रचना सार्वजनिक गर्दै आएको बताउनुभयो।

म्याग्दी जन्मथलो र काठमाडौंलाई कर्मथलो बनाउनुभएका बरुवालले साहित्यका साथै शिक्षा र शारीरिक शिक्षाको क्षेत्रमा समेत लामो समय योगदान पुर्‍याउनुभएको छ। कार्यक्रममा उहाँको साहित्यिक सक्रियता र सिर्जनात्मक निरन्तरताको प्रशंसा गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले स्वास्थ्य, जनसङ्ख्या तथा शारीरिक शिक्षालगायत सामाजिक विषयमा समेत अन्तरक्रिया गरेका थिए। साहित्य, शिक्षा र सामाजिक चेतनाका क्षेत्रमा यस्ता कार्यक्रमले आपसी सहकार्य र सिर्जनात्मक ऊर्जा बढाउने वक्ताहरूले बताएका थिए।

कार्यक्रमको अवसरमा प्रा. डा. बरुवाललगायत सहभागीहरूले नेपालीहरूका महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए। साहित्यिक तथा शैक्षिक क्षेत्रका अग्रज प्राध्यापक, बुद्धिजीवी, सरोकारवाला तथा सहभागीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।